तमसोमा ज्योतिर्गमयः

तमसोमा ज्योतिर्गमयः

तमसोमा ज्योतिर्गमयः

  • डा. नम्रता पाण्डे

गुरु पारस को अन्तरो, जानत हैं सब संत।
वह लोहा कंचन करे, ये करि लेय महंत।।
–सन्त कविर

गुरू र पारस अर्थात् पत्थरमा अवश्य भिन्नता छ किनकी पारसले फलामलाई सुन बनाउन सक्छ तर गुरूले शिष्यलाई आफू समान महान बनाउने प्रयास गर्दछ। यो मर्मलाई नबुझेर गुरूको सामग्री चोरी गरेर आफैं गुरू हुने शिष्यहरूको भिड छ आजको बजारमा।

सन्त कविर अझ अगाडी भन्नुहुन्छ–शिष्य कुबुद्धिरूपी हिलोले भरिएको हुन्छ, त्यो हिलो सफा गर्न गुरूको ज्ञान नै महत्त्वपूर्ण हुन्छ। गुरू त्यो करुणा हो जसले जन्मौं जन्मको शिष्यका अवगुणलाई क्षणभरमा नष्ट गरिदिएको हुन्छ। यति हुादापनि शिष्यत्व घटित हुदैन भने त्यो अभाग्यको लक्षण हो।

कुमति कीच चेला भरा, गुरु ज्ञान जल होय ।
जनम – जनम का मोरचा, पल में डारे धोय ।।
–सन्त कविर

गुरु गोबिन्द दोउ खडे काके लागूा पााय
बलिहारी गुरु आपने गोबिन्द दियो बताय 

सन्त कविर गुरूप्रति अहोभाव व्यक्त गर्दै प्रकट गर्नुहुन्छ– म गुरूको नै पाउमा पर्दछु। गोविन्दसम्म पुर्याउने अर्थात् परमात्मा सम्म पुर्याउने मेरो गुरू नै परमात्मा भन्दा ठूलो हो।

मानव सभ्यताको कुन समय देखि मानव विकाशको लागि गुरू वा गुरूकुलको भूमिका अर्थात् शिक्षक र विद्दार्थीको अवधारणा शुरु भयो त्यो भन्न कठिन छ तर यसमा शंका छैन कि मानव विकासमा गुरूकुल र गुरूको भूमिका महत्व्पूर्ण छ त्यसैले यसको परिकल्पना भयो। मानवको शिशु अवस्था देखि लिएर वृद्ध अवस्था सम्म पनि वस्तुगत ज्ञान एवं विषयगत ज्ञानको लागि पलपलमा गुरुको आवश्यकता रहन्छ । क, ख, ए, बि का वर्णमाला बाट शुरु हुने हाम्रो शिक्षा भूगोल, इतिहास,गणित,समाजशास्त्र जुनसुकै विषयको ज्ञान गुरुबाट प्राप्त हुन्छ/ भयो र मास्टर्स, पी एच डी गर्दा सम्म पनि गुरुको महत्व्पूर्ण भूमिका रहने गर्दछ। त्यसैले नै मानव सभ्यतामा गुरु र शिष्यको महत्वपूर्ण सम्बन्ध बन्यो। ९९ प्रतिसत मानिसलाइ जीवन र संसारको सिकाईमा गुरुको आबश्यकता रहन्छ र रह्यो। त्यसैको परिणाम हो विश्वभरमा शिक्षाको भौतिक प्रगती। यो पहिलो स्तरको गुरू र चेलाको सम्बन्ध हुन आउाछ। गुरु नै एउटा त्यस्तो व्यक्ति हो जसले अज्ञानताबाट ज्ञान अर्थात् जानकारी तिर लग्न महत्व्पूर्ण भूमिका खेल्दछ ।

अध्यात्मिक परिभाषा हेर्ने हो भने त गुरू शब्द अझै अपूर्ण हुन्छ। अध्यात्ममा गुरू (शिक्षक) अर्थात् गु –गुण ,रू–रूप ’अन्धकार बाट उज्ज्यालो तर्फ लग्ने’भनेर व्याख्या गरिएको छ जसको अर्थ विशाल छ। शब्दले नै मानव विकासमा गुरुको आवश्यकता र महत्वलाई भावनात्मक ,मनोबैज्ञानिक अर्थबाट धेरै नजिकको सम्बन्ध प्रस्तुत गर्दछ। त्यसैले हुनुपर्दछ सन्त कविरले गुरुको गुण यसरी गाउनुभएको–

सब धर्ती कागज करु ,
लेखन बन राय
सात समुन्द्र कि मसी करु
गुरु गुण लिखा ना जाय

गुरु नानक गुरुको महिमा गाउदै भन्नुहुन्छ –दुनियामा कोहि पनि व्यक्ति भ्रममा रहनु हुदैन तर बिना गुरु कोहि पनि भ्रमबाट मुक्त हुन सक्दैन।

भगवान बुद्धले गुरुको स्थानमा बसेर ब्यक्त गर्नु भएको छ –गुरु त्यो हो जसले तिम्रो अन्धकार र असत्य मार्गको बोध गराई सत्मार्गमा लग्ने काम गर्दछ। सत्मार्गमा जाने सम्यक बाटो भेट्यौ भने तिमी आफैं आफ्नो गुरु खोज्न थाल्छौ। तिम्रो भित्रको बुद्द प्रवृति थाहा पाउन सक्यौ भने तिमी थाहा पाउनेछौ गुरूको महिमा। सत्य तिम्रो नितान्त निजि स्वभाव हो ,तिम्रो असली गुण हो। गुरुले दीक्षा दिएर तिमीलाई सत्मार्ग देखाउने मात्र हो त्यो मार्गमा हिड्ने जिम्मेवारी तिम्रो हो। म सहि या गलत बाटोमा छु भन्ने थाहा नपाएका व्यक्तिलाई सत्य ,अहिंसा र करुणाको मार्गमा मानिसलाई डोर्याउने काम गुरूको हो। बुद्धले आफूलाई आफ्ना शिष्यहरूको माझ गुरु भन्दा पनि मैत्रैय “मित्र “ भन्न रुचाउनु हुन्थ्यो। गुरुसंग शरणको कुरा आउाछ, मित्र कल्याण मित्र हुन्छ र मित्र संगको सम्बन्ध समानताको सम्बन्ध हुन्छ। यसबाट प्राप्त हुने ज्ञान र सत्संग विना सर्तको, विना तहको र प्रेमपूर्ण हुन्छ भनेर ब्याख्या गरेको पनि पाइन्छ।

पोथी पढी पढी जग मुआ पंडित भया ना कोय
ढाई आखर प्रेम का पढे सो पंडित होय

सन्त कविरको दोहाले त्यतै तिर इशारा गर्दछ।

गुरुको बारेमा परमगुरू ओशो भन्नुहुन्छ –गुरुले माटो मुनि पुरिएर रहेको बिजलाई अङ्कुरित गराएर फल दिने वृक्ष बनाइदिन्छ। अर्थात् जो संसारमा अट्केको र भड्केको छ त्यसलाई प्रेम र ध्यानको मार्ग द्वारा जीवन र जगतको ज्ञान दिन सक्ने एक मात्र व्यक्ति गुरु हो भनेर ब्याख्या गर्नुहुन्छ। ओशो गुरुको बारेमा अरु प्रस्ट पार्नु हुन्छ कि – गुरुले धेरै अन्यौल र अज्ञानतामा रुमलिएको व्यक्तिलाई ज्ञानको ढोका खोल्ने चाबी प्रदान गर्दछ। गुरु ग्राविटेसन हो अर्थात् गुरु त्यो आकर्षण हो जब तिमी गुरुको नजिक हुन्छौ तब तिमी विस्तारै विस्तारै आफ्नो नजिक हुने गर्दछौ। जब तिमी आफ्नो नजिक हुन्छौ तिमी परनिर्भर हुन्छौ ्र जति परनिर्भर हुने कला सिक्छौ तिमी त्यतिनै भय मुक्त र स्वतन्त्र हुन्छौ। व्यक्ति जब संसार र कुण्ठाबाट मुक्त हुन्छ तब स्वयम भित्र डुब्ने फुर्सद पाउदछ। गुरुले अव्यवस्थित जीवन र अस्वस्थ मनस्थितिलाई रुपान्तरण गरेर सकारात्मक जीवन पद्दतिमा लग्न मद्दत गर्दछ । पदार्थसंग मात्र तादात्म्य जोडेर सतहमा हराइरहेको मानिसलाई भित्रि ज्ञानको गहिराईसम्म पुर्याएर परमात्माको अनुभूती गर्न सक्ने स्थितिमा पुर्याउछ। दिशा बिहिन यात्रामा हिडिरहेको मानिसलाई संसारको प्रेम ,करुणा र देवत्व सम्म पुग्ने यात्राको सत्मार्ग देखाउन गुरुले मद्दत गर्दछ। परमगुरू ओशो सन्त कविरको दोहा संग सहमत हुदै भन्नुहुन्छ –

गुरु बिन ज्ञान ना उपजे , गुरु बिन मिले ना मोक्ष ,
गुरु बिन लाखे ना सत्य को , गुरु बिन मिटे ना दोष

गुरुले मात्र ज्ञान दिदै, दोष मेटाउदै, सत्यको मार्ग देखाउदैमोक्ष सम्म पुर्याउछ। तर यो मार्गमा हिड्नको लागि गुरुकहा खाली भएर, बच्चा जस्तो अबोध, प्रेमपूर्ण भएर मात्र आउनुपर्दछ । भरिएको पात्र लिएर कोहि गुरुकहाा जान्छ भने उसले केहि प्राप्त गर्न सक्दैन किनकी पात्र पहिल्यै भरिएको छ।

हाम्रा सन्तहरुको मत र मार्गदर्शनको अनुशरण गर्न सके मात्र हामी असली गुरु/शिक्षक भएर हाम्रा कलिला बालबालिकाको भविष्यलाइ सहि मार्गमा लग्न सक्दछौं। किताबी ज्ञानले मात्र आखा खुल्दैन त्यसैले पाठ्यक्रममा मात्र आधारित नभई नैतिक शिक्षाका कुराहरु, मनोबैज्ञानिक, आध्यात्मिक गुरुहरुहरुका मार्गदर्शन जस्ता रोचक विषयहरु प्रस्तुत गरी फरक ढंगले केटाकेटीको मन जित्नु आजको शिक्षा हो। जति सिक्छन साना नानीहरुले त्यो सकारात्मक कुरा मात्र सिकुन ,प्रसन्न भएर सिकुन अनि उनीहरुमा छिपेको खुबी आफैं प्रस्तुत गर्न नडराउन त्यो हो आजको शिक्षा। यो सानो र बेवास्ताको विषय होइन ठूलो सत्यता यसमा लुकेको छ। शान्त, सम्बृद्द नेपालको परिकल्पना गर्ने हो भने हाम्रा कलिला बालबालिकालाई सहि मार्गनिर्देश गर्न सक्ने ,गुरुको महिमा गाउन लायक असली गुरुहरुको खाचो छ हामीलाई।

प्रभुको मार्ग कठिन छ।  आदि थाहा छैन न त अनादि सौभाग्यशाली त्यो हो जसले सद्गुरू भेट्छ र, आध्यात्मिक यात्रालाई अघि बढाउन र सनातन धर्मलाई जोगाउन गुरूको आवश्यकता पर्दछ जसले आत्म सुमिरनको कलामा डुबाउन भूमिका निर्वाह गर्दछ।